SimranCloths Ads

लागूऔषध दुर्व्यसन न्यूनीकरण महाअभियानमा विद्यालयहरूको ऐक्यबद्धता, ७ विद्यालय अभियानमा सहभागी

सिर्जन मिडिया
२०८३/०७/१३
View Updating
लाइभ: १२ पढ्दैछन्
लागूऔषध दुर्व्यसन न्यूनीकरण महाअभियानमा विद्यालयहरूको ऐक्यबद्धता, ७ विद्यालय अभियानमा सहभागी
Medical Ads

शिव हाँस्दा

झापा। समाजमा बढ्दो लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले चेतना नेपालले सञ्चालन गरिरहेको महाअभियानमा झापाका विभिन्न विद्यालयहरूले ऐक्यबद्धता जनाउन थालेका छन्।

यसैक्रममा बिर्तामोड नगरपालिका–४ स्थित कञ्चनजङ्घा अंग्रेजी माध्यमिक विद्यालय र हल्दिबारी गाउँपालिका–३ स्थित चिल्ड्रेन गार्डेन एकेडेमीले अभियानप्रति प्रतिबद्धता जनाउँदै सहभागिता व्यक्त गरेका छन्।

चेतना नेपालले पहिलो चरणमा झापाका ४० वटा विद्यालयलाई समेटेर शैक्षिक संस्थालाई लागूऔषध दुर्व्यसनमुक्त तथा सचेतनायुक्त बनाउने लक्ष्य लिएको छ। अभियानअन्तर्गत विद्यालयहरूमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई लक्षित गरी विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने तथा प्रत्येक विद्यालयमा क्लब गठन गर्ने योजना रहेको संस्थाका जनसम्पर्क अधिकारी प्रेमकुमार सेढाईंले जानकारी दिए।

उनका अनुसार हालसम्म इस्टपोइन्ट अंग्रेजी माध्यमिक विद्यालय (भद्रपुर–४), ग्रीनफिल्ड अंग्रेजी माध्यमिक विद्यालय (भद्रपुर–२), प्रज्ञा एकेडेमी (भद्रपुर–१०), गोमेन्द्र मोडेल अंग्रेजी माध्यमिक विद्यालय (बिर्तामोड–४), वेल्स मोडेल अंग्रेजी स्कुल (बिर्तामोड–७) लगायतका विद्यालयले अभियानप्रति ऐक्यबद्धता जनाइसकेका छन्। अन्य विद्यालयहरूले पनि संस्थासँग समन्वय गरी अभियानमा जोडिने प्रतिबद्धता व्यक्त गरेको उनले बताए।

विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरू राजेन्द्रकुमार घिमिरे, सन्देश राई, इशुव पाण्डे, उत्तम खनाल, तारा प्रसाईं, डा. केशवप्रसाद न्यौपाने र दुर्गामणि गौतमले लागूऔषध दुर्व्यसन न्यूनीकरण कुनै एक व्यक्ति वा परिवारको मात्र नभई समग्र समाजको साझा जिम्मेवारी भएको बताएका छन्।

उनीहरूले चेतना नेपालले दुई दशकभन्दा लामो समयदेखि हासिल गरेको अनुभव, ज्ञान र सीपलाई विद्यार्थी, अभिभावक तथा समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन्। साथै, अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकाय, सामाजिक संघसंस्था र सचेत नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखेका छन्।

संस्थाले तयार पारेका रणनीति तथा कार्ययोजनालाई विद्यालयसँगै बस्ती र टोलस्तरसम्म विस्तार गर्नुपर्ने सुझावसमेत दिइएको छ। अभियानमा सबै पक्षलाई समेटेर अघि बढ्न चेतना नेपाललाई आग्रह गरिएको छ।

चेतना नेपालका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद ओलीको नेतृत्वमा कोषाध्यक्ष देवीभक्त आचार्य, कार्यकारी प्रमुख कल्पना भट्टराई र जनसम्पर्क अधिकारी प्रेमकुमार सेढाईं सम्मिलित टोलीले विद्यालय तथा स्थानीय सरोकारवालासँग छलफल गरेको थियो।

यसैक्रममा भद्रपुर–७ निवासी सेविका माया गौतम र दर्शन भट्टराईले संस्थाको अक्षयकोष सदस्यता ग्रहण गरेका छन्। साथै, स्थानीय विभिन्न व्यक्तिहरूसँग लागूऔषध दुर्व्यसन न्यूनीकरणका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको कोषाध्यक्ष देवीभक्त आचार्यले जानकारी दिए।

कार्यकारी प्रमुख कल्पना भट्टराईले अभियानमा साथ दिने विद्यालय परिवार, अक्षयकोष सदस्यता ग्रहण गर्ने व्यक्तिहरू तथा छलफलमा सहभागी सबैप्रति आभार व्यक्त गरेकी छन्। प्राप्त सुझाव र सल्लाहलाई संस्थाले महत्वपूर्ण सम्पत्तिका रूपमा लिँदै कार्यान्वयनमा लैजाने प्रतिबद्धतासमेत उनले व्यक्त गरेकी छन्।

सबैको साथ, सहयोग र सहभागिताबाट दुर्व्यसनमुक्त तथा सीपयुक्त समाज निर्माण गर्ने लक्ष्यसहित अभियानलाई निरन्तर अगाडि बढाइने चेतना नेपालले जनाएको छ।

स्रोतः चेतना नेपाल कमल दहाल कार्यक्रम संयोजक तथा सूचना अधिकारी

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book