SimranCloths Ads

ग्रामिण प्रेस क्लब झापाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा नेत्र विक्रम विमली चयन

सिर्जन मिडिया
२०८३/०७/१५
View Updating
लाइभ: १२ पढ्दैछन्
ग्रामिण प्रेस क्लब झापाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा नेत्र विक्रम विमली चयन
Medical Ads

हल्दिबारी, झापा। ग्रामिण क्षेत्रका सञ्चारकर्मीहरूलाई संगठित गर्दै व्यावसायिक पत्रकारिताको प्रवर्द्धन तथा स्थानीय सवालमा सहकार्य गर्ने उद्देश्यले स्थापित ग्रामिण प्रेस क्लब झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ।

हल्दिबारी गाउँपालिका–२ स्थित रेडक्रस सामुदायिक भवनमा आइतबार आयोजित अधिवेशनले नेत्र विक्रम विमलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रितम कुमार धमला, महासचिवमा राजेश आचार्य, सचिवमा अभिषेक खतिवडा र कोषाध्यक्षमा शान्ता उप्रेती चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रत्न कुमार बुढाथोकी, जनकलाल राजवंशी, बुधलाल किस्कु, श्रीप्रसाद शिवाकोटी, हेमन्त मैनाली र टिकाराम बास्तोला चयन भएका छन्।

यसअघि अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयनका लागि रेम खरेलको संयोजकत्वमा लिलाराज झापाली र गोपाल पोखरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। सोही समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको हो।

अधिवेशनको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष विमलीले वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरेका थिए। उनले ग्रामीण क्षेत्रका सञ्चारकर्मीलाई संगठित गर्दै व्यावसायिक, उत्तरदायी र तथ्यमा आधारित पत्रकारितालाई प्राथमिकता दिइने बताए।

कार्यक्रमका प्रमुख अतिथि एवं कोशी प्रदेशसभा सदस्य छविलाल चुडालले ग्रामीण क्षेत्रका ओझेलमा परेका मुद्दा तथा नागरिकका आवाजलाई सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न स्थानीय सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए।

त्यस्तै, हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले ग्रामीण पत्रकारितालाई थप प्रभावकारी, व्यवस्थित र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए। उनीहरूले क्लबले सञ्चारकर्मीको क्षमता विकास तथा पेशागत हकहितका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाली मौलिक पहिचान र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले अतिथिहरूलाई ढाका टोपी तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली, वडा नं. २ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्य रचना कुलुङ राई, झापा उद्योग वाणिज्य संघका महासचिव सुमन मैनाली, हल्दिबारी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाईं, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाका सभापति कर्णखर प्रसाईं, युवा व्यवसायीहरू एकराज मगर र असिम मैनाली, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डे, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेल, नेपाल पत्रकार महासंघ झापाका सदस्य देवेन्द्र प्रसाईंलगायत विभिन्न पत्रकार संगठनका प्रतिनिधि तथा स्थानीय व्यवसायीहरूको उपस्थिति रहेको थियो।

नवनिर्वाचित उपाध्यक्ष प्रितम कुमार धमलाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव अभिषेक खतिवडाले गरेका थिए।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book