हल्दिबारीमा अपाङ्गता भएका व्यक्तिहरूका लागि एकदिवसीय क्षमता विकास तालिम सम्पन्न-सिर्जन मिडिया डटकम

झापा, कार्तिक १५। संस्थागत सुशासन, पारदर्शिता र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हल्दिबारी अपाङ्गता स्वावलम्बन संस्थाको आयोजनामा एकदिवसीय क्षमता विकास तालिम सम्पन्न भएको छ।
‘सक्षम नेतृत्व, पारदर्शी संस्था’ भन्ने मूल नाराका साथ आइतबार हल्दिबारी गाउँपालिका–२ स्थित रेडक्रस सामुदायिक भवनमा तालिम सञ्चालन गरिएको हो।
तालिममा संस्थाका पदाधिकारी तथा मिलिजुली समूहका सदस्य गरी ३२ जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई संस्थागत क्षमता विकास, नेतृत्वदायी भूमिका, संस्थागत व्यवस्थापन तथा प्रभावकारी कार्यसम्पादनलगायत विषयमा प्रशिक्षण दिइएको थियो।
तालिममा हल्दिबारी अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष लालबहादुर कन्दङ्वाको सभापतित्व रहेको थियो। प्रमुख अतिथिका रूपमा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन सहभागी हुनुभएको थियो भने प्रशिक्षकका रूपमा हरिकृष्ण अधिकारीले सहजीकरण गर्नुभएको थियो।
तालिममा संस्थाका पदाधिकारी तथा मिलिजुली समूहका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि, संस्थागत कामकारबाहीलाई व्यवस्थित बनाउने, पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा संस्थालाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।
अपाङ्गता भएका व्यक्तिहरूको संस्थागत सहभागिता, नेतृत्व विकास र आत्मनिर्भरता प्रवर्द्धन गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम हल्दिबारी गाउँपालिकाको आर्थिक सहयोग, हल्दिबारी गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको समन्वय र हल्दिबारी अपाङ्गता स्वावलम्बन संस्थाको आयोजनामा सम्पन्न भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


