SimranCloths Ads

ट्राइब्रेकरमा मेचीनगर FC लाई ३–१ गोलले हराउँदै मदारगाछ FC को शानदार सुरुआत

सिर्जन मिडिया
२०८३/०७/१४
५० Views
लाइभ: १२ पढ्दैछन्
ट्राइब्रेकरमा मेचीनगर FC लाई ३–१ गोलले हराउँदै मदारगाछ FC को शानदार सुरुआत
Medical Ads

झापा, कार्तिक १४ । तेस्रो संस्करणको झापा जिल्ला स्तरीय सन्थाल फुटबल प्रतियोगिता–२०८३ आजदेखि झापाको कनकाई नगरपालिका–९, घैलाडुब्बास्थित श्री आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा मेचीनगर FC र मदारगाछ FC बीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो।

ट्राइब्रेकरमा मदारगाछ FC ले मेचीनगर FC लाई ३–१ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

उत्कृष्ट प्रदर्शन गरेका मदारगाछ FC का गोलरक्षक विजय सोरेन खेलको म्यान अफ द म्याच घोषित भएका छन्।

प्रतियोगिता मार्शल ११ सन्थाल फुटबल क्लब, कनकाई–९, झापा को आयोजनामा तथा कनकाई नगरपालिका र कनकाई नगरपालिका–९ वडा कार्यालयको संयुक्त आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ।

उद्घाटन सत्र क्लबका अध्यक्ष गोपिन सोरेन को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

त्यस्तै, कनकाई नगरपालिका–९ का वडा अध्यक्ष राजेन्द्रप्रसाद उप्रेती विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा श्री आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश लिम्बु, प्रधानाध्यापक नरहरी न्यौपाने, कनकाई खेलकुद विकास समितिका संयोजक जीवन ओली, नेपाल सन्थाल आदिवासी उत्थान संघ झापा जिल्ला समितिका अध्यक्ष लखन हेमरम, नेपाल सन्थाल विकास समितिका पूर्व अध्यक्ष बडाराम हेमरम, स्थानीय समाजसेवी गोविन्द प्रधान, नेपाल प्रवासी सन्थाली राहतका सदस्यहरू, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका इन्चार्ज तथा विभिन्न सहयोगीदाताहरूको उपस्थिति रहेको थियो।

प्रतियोगितामा जम्मा ८ वटा टोली सहभागी रहेका छन्। प्रतियोगिताको फाइनल खेल कार्तिक २० गते हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले रु. ५१,००० नगद, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु. ३१,००० नगदसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिनेछ।

सन्थाल समुदायको खेलकुद प्रतिभा पहिचान, युवा खेलाडीलाई प्रोत्साहन तथा आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो।

Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्
Santhali Barnamala  Book