लागूऔषधविरुद्ध झापा अभियान : हल्दीबारीमा सचेतनामूलक कार्यक्रम सम्पन्न

हल्दीबारी, असोज २७। लागूऔषध दुर्व्यसन नियन्त्रण तथा यसको दुरुपयोगविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले झापाको हल्दीबारी गाउँपालिकामा ‘Say No to Drugs’ (लागूऔषधलाई नाइँ भनौँ) सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
हल्दीबारी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाभित्रका ३० वटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई लागूऔषधविरुद्ध जनचेतना फैलाउने उद्देश्यले तयार गरिएका सचेतनामूलक पोस्टर हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई, वडा नं. १ देखि ५ सम्मका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, शाखा प्रमुखहरू, कर्मचारी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो। लागूऔषधविरुद्ध झापा अभियानका विषयमा जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले जानकारी गराउँदै अभियानका उद्देश्य तथा लागूऔषध नियन्त्रणका लागि आवश्यक प्रयासबारे प्रकाश पार्नुभएको थियो।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले लागूऔषधविरुद्धको अभियान सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको बताउँदै अभियानमा साथ दिन आग्रह गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले लागूऔषध दुर्व्यसन नियन्त्रण गर्नु सबैको साझा कर्तव्य र जिम्मेवारी भएको उल्लेख गर्नुभयो। उहाँले यसको रोकथामका लागि स्थानीय सरकार, प्रहरी, विद्यालय, अभिभावक, युवा तथा समुदायबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाको तर्फबाट लागूऔषध दुरुपयोगले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी दिने सचेतनामूलक लघु वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।
विद्यालय तथा समुदायस्तरसम्म अभियान विस्तार गरी युवा पुस्तालाई लागूऔषधको दुरुपयोगबाट हुने जोखिमबारे सचेत बनाउने र स्वस्थ, सुरक्षित तथा दुर्व्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमको सञ्चालन हल्दीबारी गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


