हल्दिबारीमा एमाले गाउँ कमिटीद्वारा देउसी–भैलो भिडियो प्रतियोगिता आयोजना गरिने - Sirjan Media. Com

हल्दिबारी । नेपालीहरूको महान् पर्व दीपावली–२०८३ को अवसरमा नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले) हल्दिबारी गाउँ कमिटीले बृहत् देउसी–भैलो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ।
बदलिँदो समयसँगै ओझेलमा पर्दै गएका मौलिक लोकसंस्कृति, परम्परागत भेषभूषा तथा लोककलाको संरक्षण गर्दै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिताले समाजमा आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सामाजिक जागरण अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा हल्दिबारी गाउँपालिकाभित्रका टोल विकास संस्था, युवा क्लब, विद्यालय, कीर्तन मण्डली, सांस्कृतिक समूह तथा अन्य इच्छुक समूहहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागी समूहले आगामी कार्तिक २५ गतेभित्र नाम दर्ता गराइसक्नुपर्नेछ। प्रत्येक समूहमा कम्तीमा पाँच जना सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ भने प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।
प्रतियोगिताका लागि सहभागी समूहहरूले मौलिक देउसी–भैलो गीत, नेपाली लोकसंस्कृति, समसामयिक विषय, राष्ट्रिय एकता तथा जनचेतनामूलक सन्देश समेटिएको कम्तीमा पाँच मिनेटको भिडियो तयार गर्नुपर्नेछ। प्रतियोगितालाई निष्पक्ष र पारदर्शी बनाउन भिडियोमा कुनै पनि प्रकारको सम्पादन (एडिटिङ) गर्न नपाइने व्यवस्था गरिएको छ।
तयार पारिएका भिडियोहरू आगामी कार्तिक २९ गतेभित्र आयोजकले उपलब्ध गराएका आधिकारिक ह्वाट्सएप नम्बर ९८०४९०१५०० र ९८५२६७३१६९ मा पठाइसक्नुपर्नेछ। प्राप्त भिडियोहरू आगामी मंसिर १ गतेदेखि आयोजकको आधिकारिक फेसबुक पेजमार्फत क्रमशः प्रसारण गरिने जनाइएको छ।
प्रतियोगितामा सहभागी समूहहरूको प्रस्तुतिलाई १०० पूर्णाङ्कका आधारमा मूल्याङ्कन गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ।
पुरस्कारतर्फ प्रथम हुने समूहले २१ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, दुई समूहलाई जनही पाँच हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ। यसबाहेक उत्कृष्ट मौलिक प्रस्तुति, भेषभूषा तथा सामाजिक सन्देशका आधारमा विशेष पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट पाँच स्थान हासिल गर्ने समूहले समापन समारोहमा प्रत्यक्ष प्रस्तुति दिने अवसरसमेत प्राप्त गर्नेछन्।
यस प्रतियोगिताले हल्दिबारी क्षेत्रका स्थानीय कलाकार तथा सांस्कृतिक समूहलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


