यूएईमा सृजन सन्थाल बचत समूहको बडादशैँ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

-शिबु मुर्मु
यूएई। नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा यूएईमा रहेको सृजन सन्थाल बचत समूहको आयोजनामा बडादशैँ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सन् २०२६ अक्टोबर २४, शनिबारका दिन यूएईको बरदुबईस्थित हाम्रो माइती घर रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सयभन्दा बढी दर्शक तथा सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि, सभापति तथा अन्य अतिथिहरूको उपस्थितिमा दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रमको उद्घोषण झनक सोरेनले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष सोमभु वाइबा तामाङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सभापतित्व सन्तोष मुर्मूले गर्नुभएको थियो भने सिर्जन मिडिया प्राइभेट लिमिटेडको आईटी विभागबाट किसन बेस्रा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
त्यसैगरी, कार्यक्रमको स्वागत मन्तव्य सृजन सन्थाल बचत समूहकी सदस्य मुना मर्डीले राख्नुभएको थियो।
कार्यक्रमका क्रममा समूहका सम्पूर्ण कार्यकारी पदाधिकारीहरूलाई खादा तथा ब्याज लगाएर सम्मान गरिएको थियो। पदाधिकारीहरूको योगदानको कदर गर्दै गरिएको उक्त सम्मानले संस्थाभित्रको आपसी एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्रवासमा कामको व्यस्तताका बाबजुद पनि आफ्नो भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी अतिथि तथा दर्शकहरूका लागि खाजा तथा नास्ताको समेत व्यवस्था गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सोमभु वाइबा तामाङले बचत गर्नु मात्र पर्याप्त नभई बचत समूहलाई व्यवस्थित, पारदर्शी र दिगो रूपमा सञ्चालन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो।
उहाँले सृजन सन्थाल बचत समूहले यूएईमा मात्र सीमित नभई नेपालमा समेत सकारात्मक सामाजिक कार्य गर्दै निरन्तर प्रगति हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्ने उद्देश्यले आयोजित यस कार्यक्रमले यूएईमा रहेका नेपाली तथा सन्थाल समुदायबीच आपसी सम्बन्ध, सद्भाव र एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, संस्थाका पदाधिकारी, आयोजक, स्वयंसेवक तथा सहभागीहरूप्रति सृजन सन्थाल बचत समूहले हार्दिक आभार व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


