झापामा जेई संक्रमणबाट ५ जनाको मृत्यु, देशभर ८३० संक्रमित

झापा। लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण पछिल्लो चार महिनामा झापामा मात्रै पाँच जनाको मृत्यु भएको छ। देशभर भने १३ जनाले ज्यान गुमाएका छन् भने ८३० जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार गत वैशाखदेखि हालसम्म २१ जिल्लामा जेई संक्रमण देखिएको हो। झापाबाहेक धनुषा, सुनसरी, मोरङ, इलाम, रौतहट, पर्सा, काभ्रे र दाङमा पनि एक–एक जनाको मृत्यु भएको छ।
महाशाखाका अनुसार वर्षायाममा पानी जम्ने तथा लामखुट्टेको संख्या बढ्ने भएकाले संक्रमण अझ फैलिन सक्ने जोखिम छ। संक्रमितमध्ये अधिकांशले जेईविरुद्धको खोप नलगाएको पाइएको अधिकारीहरूले बताएका छन्।
एक वर्षदेखि ६० वर्षसम्मका व्यक्तिमा संक्रमण देखिएको छ। प्रदेशगत रूपमा कोसी प्रदेशमा सबैभन्दा बढी २४२ जनामा संक्रमण पुष्टि भएको छ। बागमतीमा १५७, लुम्बिनीमा १०४, मधेशमा ९६, सुदूरपश्चिममा ८७ र कर्णालीमा ६४ जनामा संक्रमण देखिएको छ।
जेई संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। संक्रमण गम्भीर बनेमा मस्तिष्कमा असर पुर्याउन सक्छ। सुँगुर तथा हाँसलाई भाइरसको मुख्य स्रोत मानिन्छ भने धानखेत, पानी जम्ने क्षेत्र र सुँगुर पालन हुने स्थान आसपास बसोबास गर्नेहरू बढी जोखिममा रहने स्वास्थ्य विज्ञहरूको भनाइ छ।
विश्व स्वास्थ्य संगठनका अनुसार गम्भीर जेई संक्रमण भएका व्यक्तिमध्ये करिब एकतिहाइको मृत्यु हुन सक्छ भने बाँचेकामध्ये पनि ठूलो संख्यामा दीर्घकालीन स्नायुसम्बन्धी समस्या देखिन सक्छ।
स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउन र सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
