भुटानको गासामा भीषण बाढी, सडक र पूर्वाधारमा ठूलो क्षति

शिव हास्दा
भुटान। भुटानको गासा जिल्लामा गएराति आएको भीषण बाढीले जनजीवन प्रभावित बनाउनुका साथै सडक तथा विभिन्न पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
बाढीले पुनाखा–गासा राजमार्गका केही भाग बगाएपछि लाया क्षेत्र सडक सम्पर्कबाट पूर्ण रूपमा विच्छेद भएको छ। त्यस्तै, छाचु क्षेत्रका साथै सडक सञ्जाल र सिँचाइ प्रणालीमा समेत व्यापक क्षति पुगेको बताइएको छ।
बाढीको सम्भावित कारण गासा जिल्लामा रहेको सिन्ताफु हिमताल विस्फोट हुन सक्ने आशंका गरिएको छ। तर, यसबारे सम्बन्धित निकायबाट आधिकारिक पुष्टि भने भइसकेको छैन।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, सरकारी कर्मचारी, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू र पुनात्साङछु नदीको जलस्तर निरन्तर निगरानी गरिरहेको छ भने जोखिमयुक्त क्षेत्रमा सतर्कताका लागि साइरनसमेत बजाइएको छ।
यसैबीच, सम्भावित बाढी र गेग्रानको जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरेको छ। साथै, जलाशयमा पानीको सतह घटाउन बाँधका ढोकासमेत खोलिएको जनाइएको छ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन। घटनाको वास्तविक कारण, भौतिक क्षतिको अवस्था र थप जोखिमबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


