प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँ कतारको दोहा हुँदै न्युयोर्क पुग्नुहुने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (असोज ८) मा संयुक्त राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सामान्य बहसलाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। महासभामा उहाँले नेपालका समसामयिक विषय तथा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको न्युयोर्क भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाहको नेतृत्वमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत वरिष्ठ सरकारी अधिकारीहरू सहभागी प्रतिनिधिमण्डल न्युयोर्कमा रहनेछ। परराष्ट्रमन्त्री खनाल भने विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागी हुन यसअघि नै न्युयोर्क पुगिसक्नुभएको छ।
प्रधानमन्त्री शाह सेप्टेम्बर २५ (असोज ९) मा न्युयोर्कबाट दोहा हुँदै नेपाल फर्कने र सेप्टेम्बर २६ (असोज १०) मा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
यो प्रधानमन्त्री शाहको पदभार ग्रहण गरेपछि पहिलो विदेश भ्रमणसमेत हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्


