काँकडभिट्टामा १८ लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद

सिर्जन मिडिया
२०८३/०५/०८
View Updating
लाइभ: १२ पढ्दैछन्
काँकडभिट्टामा १८ लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद

झापा — पूर्वी नाका काँकडभिट्टामा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणको मोबाइल पार्ट्स बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद मोबाइल पार्ट्सको भन्सार मूल्य १८ लाख १ हजार रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि सोमबार दिउँसो २ः५० बजे मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको छ।

शनिबार राति करिब १२ः४० बजे मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा क्षेत्रमा भारततर्फबाट केही व्यक्तिहरूले टाउकोमा बोकेर मोबाइल पार्ट्स नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले देखेको थियो।

सशस्त्र प्रहरी बल नेपाल बीओपी बाहुण्डाँगीबाट सशस्त्र प्रहरी नायब निरीक्षक रुद्रवीर राईको कमान्डमा खटिएको सात सदस्यीय पैदल गस्ती टोलीलाई देखेपछि सामान बोकेका व्यक्तिहरू सामान छाडेर भारततर्फ फरार भएका थिए।

त्यसपछि प्रहरीले सामान नियन्त्रणमा लिएर जाँच गर्दा चार बोरा विभिन्न किसिमका आईफोन मोबाइलका पार्ट्स फेला पारेको जनाएको छ।

बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गर्न मेची भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीले जानकारी दिए।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्