बिर्तामोडमा बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

झापा । बिर्तामोडमा बसलाई ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बुधबार दिउँसो करिब ३ः२० बजे बिर्तामोड नगरपालिका–१ स्थित बिर्तामोड आँखा अस्पतालअगाडि पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१८ प ५७५४ नम्बरको १५० सीसी पल्सर मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४७०७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बसको दायाँतर्फ ठक्कर दिएको थियो।
बसमा ठोक्किएपछि पल्सर विपरीत दिशाबाट आउँदै गरेको मे १० प ७२५७ नम्बरको १५० सीसी एफजेड मोटरसाइकलसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पल्सर चालक अर्जुनधारा नगरपालिका–६ रिजालगाउँका ३३ वर्षीय इन्द्रमणि अर्याल गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेका अर्याललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४ः१८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, एफजेड मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २० वर्षीय अनिश राजवंशी घाइते भएका छन्। उनको दाहिने खुट्टा र हातमा चोट लागेको छ। बोल्न सक्ने अवस्थामा रहेका राजवंशीको कञ्चनजंघा अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस, बस चालक विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय गंगा श्रेष्ठ तथा दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
