झापा–२ कुवाडीमा ओल चिकी लिपि प्रशिक्षण, ७० जनाभन्दा बढी सहभागी

-शिबु मुर्मु
झापा । झापा गाउँपालिका–२, श्री कुवाडी देवि माध्यमिक विद्यालयमा सन्थाल समुदायको भाषा, लिपि तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ओल चिकी लिपि प्रशिक्षण कार्यक्रमको पहिलो साताको कक्षा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।
प्रशिक्षण कार्यक्रममा ७० जनाभन्दा बढी सन्थाल विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा ओल चिकी लिपिका प्रशिक्षक श्याम हेमरमले सहभागीहरूलाई ओल चिकी लिपिको आधारभूत ज्ञान तथा अभ्यास गराउनुभएको थियो।
कार्यक्रमलाई स्थानीय माँझीबाबा सिग्राई किस्कुको साथ तथा स्थानीय युवाहरू शिव हेमरम, अर्जुन हाँस्दा र लक्ष्मी मुर्मुको नेतृत्वमा व्यवस्थित रूपमा सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय सन्थाल विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
सन्थाल समुदायका न्यायाधीश श्रीमान् विश्वदीप बेस्राले समेत कार्यक्रमलाई आवश्यक सहयोग, सल्लाह तथा सुझाव प्रदान गर्नुभएको आयोजकले जनाएको छ।
सन्थाल समुदायको मौलिक भाषा र लिपिको संरक्षण गर्दै नयाँ पुस्तालाई ओल चिकी लिपि सिकाउने र यसको प्रयोगलाई विस्तार गर्ने उद्देश्यले प्रशिक्षणलाई निरन्तरता दिइने जनाइएको छ।
स्थानीय स्तरमै ओल चिकी सिक्ने अवसर पाएपछि सहभागीहरू उत्साहित देखिएका थिए। कार्यक्रमले सन्थाल समुदायका विद्यार्थी तथा युवाहरूमा आफ्नो भाषा, लिपि र संस्कृतिप्रति थप रुचि बढाउने अपेक्षा गरिएको छ।
“आफ्नो भाषा र लिपि जोगाऔँ, ओल चिकी सिकौँ र सिकाऔँ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
