रसुवामा भीषण बाढी : ९ सशस्त्र प्रहरी र करिब ५० तीर्थयात्री सम्पर्कविहीन

-अनिता हास्दा
रसुवा । रसुवामा बुधबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। स्थानीय बासिन्दाका अनुसार बाढी अघिल्लो वर्षको तुलनामा झन्डै पाँच गुणा ठूलो रहेको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चेबाट सामान्य अवस्थामा नदेखिने भोटेकोशी नदी आज देखिएको र अवस्था अत्यन्तै डरलाग्दो रहेको बताउनुभएको छ। उहाँका अनुसार नदीको तटीय क्षेत्रमा रहेका विभिन्न बस्ती तथा संरचनाहरू प्रभावित भएका छन्। टिमुरे बजार र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी आएको उहाँले बताउनुभयो।
सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। यस्तै कैलाश मानसरोवर यात्रामा हिँडेका करिब ५० जना तीर्थयात्रीसमेत सम्पर्कविहीन रहेको बताइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा समेत ठूलो क्षति पुगेको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ हुँदै चितवनको मुग्लिनसम्म त्रिशूली नदीको किनार आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।
बाढीका कारण पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सरकारले अनुरोध गरेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासन कार्यालयलगायतका सुरक्षा निकाय उद्धार तथा खोजी कार्यमा परिचालित भएका छन्। नेपाली सेनाले पनि उद्धार तथा खोजी कार्यलाई तीव्रता दिएको छ।
गृह मन्त्रालयका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कमान्ड सेन्टर स्थापना गरी उद्धार, खोज तथा राहतका काम अघि बढाइएको छ। मेडिकल टोलीसहित सेनाको हेलिकोप्टर रसुवा पठाइएको छ।
सरकारले उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै १२ हेलिकोप्टर कम्पनीका ३४ वटा हेलिकोप्टरलाई उद्धारका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र सम्भावित थप क्षतिबाट जोगाउन सुरक्षा निकाय तथा स्थानीय प्रशासनले निरन्तर सूचना प्रवाह गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
