कानुन बने पनि कार्यान्वयन कमजोर हुँदा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण

सिर्जन मिडिया
२०८३/०५/११
View Updating
लाइभ: १२ पढ्दैछन्
कानुन बने पनि कार्यान्वयन कमजोर हुँदा लागूऔषध नियन्त्रण चुनौतीपूर्ण

झापा । नेपालमा लागूऔषध नियन्त्रणका लागि विभिन्न ऐन, नियमावली, नीति, रणनीति तथा निर्देशिका बने पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा लागूऔषध दुर्व्यसन तथा कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन्।

चेतना नेपाल परामर्श केन्द्र, विर्तामोड–४ झापाका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओलीका अनुसार लागूऔषध नियन्त्रणका लागि नेपालमा पर्याप्त कानुनी व्यवस्था भए पनि सम्बन्धित निकायले त्यसको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा समस्या जटिल बन्दै गएको हो।

नेपालमा लागूऔषध नियन्त्रणका लागि लागूऔषध नियन्त्रण ऐन २०३३, लागूऔषध नियन्त्रण नीति २०६३, लागूऔषध नियन्त्रण रणनीति २०६६, उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५ लगायत विभिन्न कानुनी व्यवस्था छन्। त्यस्तै, सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन २०६८ तथा नियमावली २०७१ समेत कार्यान्वयनमा छन्।

तर कानुन तथा निर्देशिका बनेर मात्र समस्या समाधान नहुने ओलीको भनाइ छ। उहाँका अनुसार कानुन कार्यान्वयन गर्ने निकायमा पर्याप्त दक्षता, जानकारी, जनशक्ति र सक्रियता नहुँदा लागूऔषध नियन्त्रण प्रभावकारी हुन सकेको छैन।

स्थानीय तहलाई समेत लागूऔषध नियन्त्रण तथा रोकथामसम्बन्धी कार्यक्रम सञ्चालनका लागि २०७६ सालमा मार्गदर्शन पठाइएको भए पनि त्यसअनुसार समिति गठन, हेल्प डेस्क तथा टोल–फ्री सेवा सञ्चालनजस्ता कार्य प्रभावकारी रूपमा हुन नसकेको उहाँको दाबी छ।

ओलीले लागूऔषध अपराधमा तुलनात्मक रूपमा कडा दण्डसजायको व्यवस्था भए पनि त्यसको उद्देश्य केवल कसुरदारलाई पीडा दिनु नभई अपराध नियन्त्रण र व्यक्तिको आचरण सुधार गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार कानुनको प्रभावकारी कार्यान्वयनसँगै समुदायस्तरमा सचेतना र सहकार्य आवश्यक छ।

लागूऔषध नियन्त्रणका लागि प्रहरी, प्रशासन, स्थानीय तह, स्वास्थ्य क्षेत्र, सामाजिक संघसंस्था, सञ्चारमाध्यम तथा समुदायबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ छ। केवल बैठक, गोष्ठी र नारामा सीमित कार्यक्रमले दुर्व्यसन नियन्त्रण हुन नसक्ने भन्दै उहाँले फिल्डमै प्रभावकारी एक्सन, दक्ष जनशक्ति परिचालन र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।

“कानुनका ठेली बनाएर बन्द कोठाको दराजमा थन्क्याएर मात्र लागूऔषध नियन्त्रण हुँदैन,” ओलीले भन्नुभयो, “कानुनलाई व्यवहारमा लागू गर्दै समाजलाई नै लागूऔषधविरुद्ध एकजुट बनाउन आवश्यक छ।”

समाज नै लागूऔषधविरुद्ध एकजुट भए सेवनकर्ता, उत्पादनकर्ता, सञ्चयकर्ता, ओसारपसारकर्ता तथा बिक्री–वितरणमा संलग्न व्यक्तिको पहिचान गर्न सहज हुने उहाँको भनाइ छ।

लागूऔषध नियन्त्रणका लागि सरकार तथा सम्बन्धित निकायले वातावरण निर्माण गर्ने र समुदायले सक्रिय भूमिका निर्वाह गर्ने हो भने दुर्व्यसन तथा कारोबार न्यूनीकरण गर्न सकिने ओलीले बताउनुभयो। उहाँले कानुनको प्रभावकारी कार्यान्वयनतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउनुभएको छ।

इन्द्र प्रसाद ओली

अध्यक्ष/प्रमुख प्रशिक्षक

चेतना नेपाल परामर्श केन्द्र

विर्तामोड–४, झापा

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्