हल्दीबारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

झापा, हल्दीबारी। हल्दीबारी गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त समीक्षा कार्यक्रममा वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, प्राप्त उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा आगामी वर्षका प्राथमिकताबारे विस्तृत रूपमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, पुनःस्थापना, क्षमता अभिवृद्धि तथा सामाजिक समावेशीकरणका क्षेत्रमा अझ प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वन(महेन्द्र), स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला, करुणा फाउन्डेसन नेपालका प्रतिनिधि जगतबहादुर कामत, विभिन्न शाखाका प्रमुखहरू, आधारभूत अस्पताल तथा वडास्तरीय स्वास्थ्य संस्थाका प्रमुखहरू,OPD पदाधिकारीहरु, सबै वडाका अपाङ्गता मिलिजुली समूहका पदाधिकारीहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले कार्यक्रमको विस्तृत प्रस्तुति गर्दै आर्थिक वर्षभरि सम्पन्न भएका गतिविधि, उपलब्धि तथा आगामी कार्यदिशाबारे जानकारी गराउनुभएको थियो।
समीक्षा बैठकले अपाङ्गता भएका व्यक्तिहरूको पुनःस्थापना, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच, अधिकार सुनिश्चितता तथा समावेशी विकासका कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
