दुईपटक मिति तोकिए पनि बैठक बस्न सकेन, सन्थाल आदिवासी उत्थान संघमा प्रश्न

सिर्जन मिडिया
२०८३/०४/३०
५० Views
लाइभ: १२ पढ्दैछन्
दुईपटक मिति तोकिए पनि बैठक बस्न सकेन, सन्थाल आदिवासी उत्थान संघमा प्रश्न

शिव हास्दा

झापा । नेपाल सन्थाल आदिवासी उत्थान संघले बैठक बस्ने भन्दै दुईपटक मिति तय गरे पनि बैठक हुन नसकेपछि संघको कार्यशैलीमाथि प्रश्न उठेको छ।

संघले यसअघि १५ गते बैठक बस्ने निर्णय गरेको थियो। तर उक्त मितिमा पनि बैठक हुन सकेन। त्यसपछि पुनः ३० गते शनिबार बैठक बस्ने निर्णय गरिएको थियो। अध्यक्षले समेत सार्वजनिक भिडियोमार्फत ३० गते बैठक बोलाइएको र संस्थाका विगत तथा वर्तमान कार्यक्रमको समीक्षा, आर्थिक हिसाब–किताब, लेखापरीक्षण (अडिट), आगामी कार्ययोजना तथा अधिवेशनका विषयमा छलफल गरिने बताएका थिए।

तर, ३० गतेका लागि तय गरिएको बैठकसमेत बस्न सकेन। अझ बैठक बस्ने भनिएको विषयमा संघका केही पदाधिकारीहरूलाई नै पर्याप्त जानकारी नभएको बताइएको छ।

दुईपटक बैठकको मिति तय भइसके पनि दुवैपटक बैठक हुन नसकेपछि संघको आन्तरिक समन्वय, सूचना प्रवाह तथा निर्णय कार्यान्वयनको विषयमा प्रश्न उठेको हो।

संघले पालिका, जिल्ला हुँदै केन्द्रीय अधिवेशन सम्पन्न गर्ने, आर्थिक पक्षलाई पारदर्शी बनाउने र संस्थालाई थप व्यवस्थित बनाउने योजना सार्वजनिक गर्दै आएको छ। तर बैठकका लागि तय गरिएका निर्णय नै कार्यान्वयन हुन नसकेपछि संस्थाले सार्वजनिक गरेका प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छन्? भन्ने प्रश्नसमेत उठेको छ।

अब संघका नेतृत्व तथा पदाधिकारीहरूसँग मुख्य प्रश्न छ—पहिलोपटक १५ गते बैठक बस्ने निर्णय किन कार्यान्वयन भएन? त्यसपछि ३० गते बैठक बस्ने निर्णयसमेत किन पूरा हुन सकेन? बैठक नबस्नुको वास्तविक कारण के हो?

यस विषयमा नेपाल सन्थाल आदिवासी उत्थान संघको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्