मोरङमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु

सिर्जन मिडिया
२०८३/०४/२६
१०० Views
लाइभ: १२ पढ्दैछन्
मोरङमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु

झापा। मोरङमा मंगलबार भएका छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका–३ महादेवामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ भने सुनबर्षी नगरपालिका–४ स्थित गान्धी आश्रम नजिकै अर्की महिला मृत अवस्थामा फेला परेकी छन्।

रतुवामाई–३ महादेवाकी ३५ वर्षीया आशा ताजपुरियालाई मंगलबार बिहान घरभित्र काम गरिरहेको अवस्थामा गोमन सर्पले टोकेको थियो। सर्पले दाहिने हातको कान्छी औँलामा टोकेपछि उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पतालमा चिकित्सकले दिउँसो ३ः१० बजे उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव उनका ससुरा चिल्का ताजपुरियाले बुझेर लगेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ। घटनाबारे प्रहरी चौकी महादेवाबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमाण्डमा टोली खटिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यस्तै, सुनबर्षी नगरपालिका–४ स्थित गान्धी आश्रम नजिकै ४२ वर्षीया किस्नी पासवान मृत अवस्थामा फेला परेकी छन्। दोहमना–अमरदह भित्री सडकखण्डअन्तर्गत चौबाटोमा रहेको गान्धी आश्रम स्मारकको पेटीमा उनी मंगलबार मृत अवस्थामा भेटिएकी हुन्।

महिला मृत अवस्थामा रहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय दोहमनाबाट प्रहरी नायब निरीक्षक बलकुमार राईको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान अघि बढाएको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक अशोककुमार झाको कमाण्डमा थप प्रहरी टोलीसमेत परिचालन गरिएको छ।

पासवानको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्