बाह्रदशीमा सुरक्षा सुदृढ बनाउन विद्यालयमा सिसी क्यामेरा जडान, एसपी खड्काद्वारा युवा व्यवसायीको पहलको प्रशंसा

सिर्जन मिडिया
२०८३/०४/१९
View Updating
लाइभ: १२ पढ्दैछन्
बाह्रदशीमा सुरक्षा सुदृढ बनाउन विद्यालयमा सिसी क्यामेरा जडान, एसपी खड्काद्वारा युवा व्यवसायीको पहलको प्रशंसा

झापा । झापाको बाह्रदशी गाउँपालिका–२, बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयमा सुरक्षा व्यवस्था सुदृढ बनाउने उद्देश्यले चार थान सिसी क्यामेरा जडान गरिएको छ। स्थानीय युवा व्यवसायी तथा समाजसेवी चाँद मोहम्मदको सक्रियता तथा ओमप्रकाश बुढाथोकीको परिवारको सहयोगमा उपलब्ध गराइएको सिसी क्यामेरा विद्यालयलाई हस्तान्तरण गरिएको हो।

सिसी क्यामेरा हस्तान्तरण तथा दाता सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले सीमित जनशक्तिका बीच प्रहरीले मात्र सम्पूर्ण सुरक्षा चुनौती समाधान गर्न नसक्ने बताउनुभयो। खुला सीमाका कारण हुने चोरी–तस्करी नियन्त्रण तथा विशेषगरी बालबालिका र युवामाझ बढ्दै गएको लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि समाजका हरेक नागरिक सचेत र जिम्मेवार भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

एसपी खड्काले चाँद मोहम्मद र ओमप्रकाश बुढाथोकीजस्ता युवाहरूले समाजको सुरक्षाका लागि गरेको पहल प्रशंसनीय रहेको बताउँदै सिसी क्यामेरा जडानले अपराध नियन्त्रण, निगरानी तथा सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्नुभयो।

उहाँले प्रहरीको प्रत्यक्ष उपस्थिति कम भएका स्थानमा सिसी क्यामेरामार्फत निगरानी बढाउन सकिने भन्दै यस्ता सामाजिक कार्यमा समुदायका सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा दाता चाँद मोहम्मदले बाह्रदशी गाउँपालिकाभित्रका अन्य सामुदायिक विद्यालयहरूमा समेत सहयोग जुटाएर क्रमशः सिसी क्यामेरा जडान गर्दै लैजाने लक्ष्य रहेको बताउनुभयो।

वडा नं. २ का वडाध्यक्ष भीमबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एसपी खड्का र वडाध्यक्ष कार्कीले सिसी क्यामेरा सहयोग गर्ने दाताहरूलाई अबिर तथा खादा ओढाएर सम्मान गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य युवराज ढकाल, दाता चाँद मोहम्मद, समाजसेवी विष्णु भट्टराई, थिलकुमार दाहाल तथा दाता परिवारका अमृतबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

विद्यालयका शिक्षक महेशकुमार विष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक घनश्याम उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

विद्यालयमा सिसी क्यामेरा जडान भएपछि विद्यालय परिसरको नियमित निगरानीसँगै विद्यार्थी तथा शिक्षकको सुरक्षा, चोरी तथा अन्य सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Santhali Calendar 2083
Call for Article

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृयाहरू (0)

तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।

लगइन गर्नुहोस्