मेचीनगरमा बलात्कार आरोपमा फरार व्यक्ति पक्राउ

झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका ४७ वर्षीय प्रवेक डंगोल पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका–१६ निवासी डंगोललाई प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेको सूचनाका आधारमा पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८२ फागुन २५ गते राति मेचीनगर–१३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोप उनीमाथि लागेको थियो। घटनापछि पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले जबरजस्ती करणीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको थियो।
फरार रहेका डंगोल नेपाल प्रवेश गर्न लागेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारी र काकडभिट्टाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। सोही क्रममा साउन २६ गते दिउँसो करिब ३ बजे मेचीनगर–६ स्थित काकडभिट्टा बसपार्क क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका डंगोललाई प्रहरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
