झापामा दुई छुट्टाछुट्टै घटनामा ३ जना लागूऔषधसहित पक्राउ

झापामा प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका तीन जनालाई छुट्टाछुट्टै घटनामा लागूऔषधसहित नियन्त्रणमा लिएको छ।
गएराति करिब १०ः१० बजे झापा गाउँपालिका–४, चर्तागाछीमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्ती टोलीले शिवसताक्षी नगरपालिका–९ का १७ वर्षीय गौरव चौधरीलाई पक्राउ गरेको हो। प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका चौधरीलाई चेकजाँच गर्दा ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ।
उनको साथबाट प्लास्टिकसहित ७ ग्राम १० मिलिग्राम तथा प्लास्टिकबाहेक ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट २ पत्ता अर्थात् १८ पिस बरामद भएको बताइएको छ। चौधरीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी चौकी टाघनडुब्बामा राखिएको छ।
यस्तै, आज बिहान करिब १०ः१० बजे झापा गाउँपालिका–४ स्थित टाघनडुब्बा स्कुल टोलमा पनि प्रहरीले दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक चुक्तबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका–६, शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डीलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनीहरूको साथबाट प्लास्टिकसहित १ ग्राम ७५ मिलिग्राम तथा प्लास्टिकबाहेक १ ग्राम ०८ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई साइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिकृयाहरू (0)
तपाईंले प्रतिकृया दिन लगइन गर्नुपर्छ।
लगइन गर्नुहोस्
